
श्रद्धेय संघनायक भिक्षु ज्ञानपुर्णिक महास्थविरलाइ निर्वाण कामना !
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त नेपालका सातौं संघनायक अग्गमहापण्डित भिक्षु ज्ञानपूर्णिक महास्थविरले आफ्नो ८१ औं वर्षको उमेरमा २०७७ साल असार १९ गते शुक्रबार बिहान ४:३५ बजे दिवंगत हुनुभएको छ ।
उहाँलाई थाईल्याण्डको सुप्रशिद्ध दुईवटा विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्रदान गरिएको थियो भने म्यानमार सरकारले पनि राष्ट्रियस्तरको अग्रमहापण्डित पदद्वारा विभूषित गरिएको थियो । अखिल नेपाल भिक्षु महासंघका पूर्व अध्यक्ष हुनुको साथै नेपालको बौद्धहरुको छाता संगठन धर्मोदय सभाको समेत उहाँले नेतृत्व प्रदान गर्नुभएको थियो । साथै उहाँकै अग्रसरतामा विश्व शान्ति विहार तथा विश्व शान्ति बौद्ध विद्यालय एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बन्धन प्राप्त थेरवाद बुद्धिष्ट एकेडेमिको स्थापनामा पनि उहाँको अतुलनीय योगदान रहेको कुरा स्मरणीय छ ।
नेपालको प्रदेश नं. ५ पाल्पा तानसेनको टक्सार टोलमा वि.सं. १९९६ मंसिर ६ गते हरिबोधिनी एकादशीका दिन हिरालाल शाक्यको रुपमा जन्मनुभएको थियो । उहाँ विगत केही समयदेखि ललितपुरस्थित धापाखेलको सुमेरु अस्पतालमा मृगौला रोगी रुपमा डायलसिस गर्दै आउनुभएको थियो भने उहाँमा प्रोष्टेडको समस्या रहेको थियो ।
उहाँको अन्तिम संस्कार गुरू पूर्णिमाको दिन यही आउँदो असार २१ गते आइतबारका दिन दिउँसो १२:३० बजे विश्व शान्ति विहारमा परित्राण पाठ गरी सामाजिक दुरी कायम गरी शवयात्रा हुने कुरा सम्बन्धित पक्षबाट जानकारीमा आएको छ ।