त्रिपिटक बौद्धहरूको पवित्र ग्रन्थ हो । सिद्धार्थले बुद्धत्व प्राप्तगरि बुद्ध भइसकेपछि ४५ बर्षसम्म ग्राम ग्राम, निगम निगम, प्रदेश प्रदेशमा गर्नुभएको धर्मको उपदेश, शिक्षाहरूको संग्रहित रूप नै त्रिपिटक हो । ‘त्रि’ ले तीन वटा र ‘पिटक’ ले टोकरी वा भाँडो जनाउँछ । भगवान बुद्ध महापरिनिर्वाण भईसकेपछि भिक्षु महाकाश्यप, भिक्षु आनन्द लगायत उहाँका मुख्य मुख्य शिष्यहरूका साथै पाँच सयजना अर्हत् भिक्षुहरू सम्मिलित भइ बुद्धवचनको संगायना गर्नुभयो । बुद्ध परिनिर्वाणको १०० वर्षपछि स्थविरहरूले बैशालीमा दोस्रो संगायना गरे । त्यसपछि अशोक महाराजको समयमा मौद्गलिपुत्रको प्रधानतामा पाटलिपुत्रमा तेस्रो संगायन भयो, जुनबेला त्रिपिटकलाई लिपिबद्ध गरिएको थियो । यसरी नै पालि साहित्य अनुसार चौथो संगायना वट्टगामिनी अभयको पालामा श्रीलंकामा, पाचौं संगायना मिन्डोन राजाको समयमा र प्रधानमन्त्री ऊ नु को समयमा छैंठौ संगायना गरी म्यान्मारमा दुई पटक सम्पन्न भयो । त्यही संगायनाहरूमा संग्रह गरिएका बुद्धको शिक्षालाई नै आधिकारीक रूपमा लिइदै आईरहेको छ । त्यही आधारमा त्रिपिटकमा समाबेस भएका ग्रन्थहरू निम्नअनुसार छन्ः
त्रिपिटक
क सुत्तपिटक | ख विनयपिटक | ग अभिधम्मपिटक |
---|---|---|
१. दीघनिकाय | १. पाराजिकापालि | १. धम्मसङ्गणिपालि |
२. मज्झिमनिकाय | २. पाचित्तियपालि | २. विभङ्गपालि |
३. संयुत्तनिकाय | ३. महावग्गपालि | ३. धातुकथापालि |
४. अंगुत्तरनिकाय | ४. चुल्लवग्गपालि | ४. पुग्गलपञ्ञत्ति |
५. खुद्दकनिकाय | ५. परिवारपालि | ५. कथावत्थुपालि |
खुद्दकनिकाय अर्न्तगत | ६. यमकपालि | |
१. खुद्दकपाठ | ७. पठ्ठानपालि | |
२ धम्मपद | ||
३.उदान | ||
४ इतिवुत्तक | ||
५.सुत्तनिपात | ||
६. विमानवत्थु | ||
७.पेतवत्थु | ||
८.थेरगाथा | ||
९. थेरीगाथा | ||
१०. जातक | ||
११ महानिद्देस, चूलनिद्देस | ||
१२.पटिसम्भिदामग्ग | ||
१३.अपदान | ||
१४.बुद्धवंस | ||
१५.चरियपिटक |
यसरी त्रिपिटकको अट्ठकथा, टीका र अनुटीका हुँदै बिकास भएको पालि त्रिपिटक बिभिन्न भाषामा अनुवाद भईसकेका छन् । नेपालमा पनि थेरबाद बुद्धधर्मको बिकाससँगै पालि त्रिपिटकको नेपालभाषा र नेपाली भाषामा अनुबाद भइरहेको छ । जति पनि अनुबाद भएका छन् ती सबै पुस्तकहरु डिजिटलाइज गरी सहजरूपमा उपलब्ध गराउने उद्देश्यले धम्मडिजिटलले ‘त्रिपिटक’ नामक छुट्टै कोलम बनाई उपलब्ध गराएका छौं ।